(१) जग्गा धनीले आफूले कमाउन दिएको र किसानले आफूले कमाएको उखडा जग्गाको ऐन बमोजिमको विवरण अनुसूची –१ मा तोकिएको ढाँचामा आफू छेउ दाखिला गर्न पन्ध्र दिनको म्याद तोकी उखडा सम्बन्धी अधिकारीले सूचना प्रकाशित गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना गाउँ विकास समितिका अध्यक्ष छेउ पठाइनेछ र अध्यक्षले त्यस्तो सूचना आफ्नो क्षेत्रभित्र सबैले देख्ने ठाउँहरूमा टाँसी त्यस्तो विस्तृत रूपमा सबैले थाहा पाउने गरी प्रचार गर्नु पर्छ ।
(३) उपनियम (२) बमोजिमको सूचना टाँस भएको मितिले पन्ध्र दिन भित्र जग्गा धनीले र किसान दुवैले वा निजहरू नाबालक वा बौलाहा भए निजका अविभावकहरूले विवरण दाखिल गर्नुपर्छ ।
तर विवरण दाखिल गर्नुपर्ने व्यक्तिले विवरण दाखिल गर्ने म्याद बढाउन लिखित अनुरोध गरेमा वा उखडा सम्बन्धी अधिकारीले त्यस्तो विवरण दाखिल गर्ने म्याद बढाउन आवश्यक देखेमा उखडा सम्बन्धी अधिकारीले विवरण दाखिल गर्ने बढीमा सात दिन सम्मको म्याद बढाउन सक्नेछ र त्यसरी म्याद बढाइएको सबैले थाहा पाउने गरी प्रचार गर्नु पर्छ ।